कर्णाली समाचारदाता कालीकोट भदौ २६ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ का गोरख बिक दैनिक हातमा वरियो अर्थात (जेउडो) समातेर जिते वजार पुल वारी र छहरापारी गरिरहनुहुन्छ । उमेरले ५० वर्ष कटिसक्नु भएका बिकलाई परिवारको दैनिकी चलाउन यसरी मजदुरी नगरेर सुखछैन । तीन जना छोरा छोरी, श्रीमती र आफु गरेर पाँच जनाको परिवारको हातमुख जोर्न गोरख बिकले दैनिक स्थानीय वजारमा पल्लीधारे काम गदै आउनु भएको छ ।
वजारमा भारी वोकेर कमाई हुन्छ भनेर सुचना पाउनु अघि गोरख मान्म वजारमा दाउराका भारी बेचेर गुजरा गदै आउनु भएको थियो । दिनभरी जङगलवाट एक भारी दाउरा ल्याउने र त्यही भारीको मुल्य पाँच सय देखि सात सय सम्म हुन्थ्यो । गोरखले भन्नुभयो, त्यही महिना भरीको जम्मा गरेर चामल, नुन, दाल, तेल किन्ने र परिवार पाल्दै आएको थिए । पछि आफ्नो एक जना छिमेकी परेक बिकले जिते वजारमा भारी वोक्ने काम पाइने र दैनिक दुई हजार भन्दा वढि कमाई हुने भनेपछि यहाँ आईपुगेको उहाँले सुनाउनुभयो ।
गोरखका अनुसार खुलालुमा पक्की पुल नहुदा जितेवजारमा भारी वोकेर दैनिक तीन हजार देखि चार हजार सम्म वचत हुने गरेको थियो । जवान युवासंग समुह वनाएर काम गर्दा चार हजार सम्म हुन्थ्यो । समानका गाडी खाली गर्ने, सिमेन्ट, सरिया, तेलका ड्रम पुलवाट पारी करिडोर सम्म ढुवानी गर्दा राम्रो कमाई हुने गरेको गोरखको भनाई छ । पछि पुल बनेसंगै वजार पनि खाली भयो । समानका गाडी सिधै कालीकोटको रास्कोट नगरपालिका, पलाँता गाउँपालिका पचालझरना गाउँपालिका, वाजुरा, मुगु जाने भएकाले काम पाउन आज भोली मुस्कील हुने गरेको उहाँको भनाई छ ।
शुक्रवार जितेको छहरामा भेटिनु भएका गोरख बिकले आज त चिया पिउने पनि कमाई नभएको सुनाउनुभयो । उहाँले पुल बनेपछि अरुलाई सहज भयो । तर हामी काम गरी खानेको भने मजदुरी खोसिएको छ । कहिले दैनिक पाँच सय सम्म हुन्छ । आज त केही भएन, घरमा साना छोरा छोरीले वावाले केही ल्याउनु हुन्छ होला भनेर वाटो कुरेर बसेका होलान । आफ्नो यहाँ यस्तो हालत छ गोरखले दुख ब्यक्त गर्नुभयो ।
कर्णाली करिडोर तर्फ जाने कर्णाली माथि खुलालुमा पुल बनेपछि जितेवारमा ब्यापारी छैनन । कोही शहरमा सरे भने कोही वाजुरा, मुगु तर्फ गईसकेका छन । जिते वजार खाली भएकाले पल्लीधारे काम गर्ने मजदुरको रोजगारी खोसिएको छ । सबै दैनिक उपभोग्य समान सिधै पुलवाट गाडीमा ढुवानी हुने भएपछि पल्लीधारे मजदुरले काम पाउन छोडेका हुन । पुल नहुदा झुलुङ्गे पुलवाट समान मानविय श्रोतवाट ढुवानी गरेर पारी लिदा दैनिक दुई देखि तीन सय जना मजदुरले काम पाउने गरेका थिए । अहिले एक दुई जनालाई पनि काम पाउन मुस्कील छ । बिकासले बिनास पनि निम्ताउछ भने साच्चै रहेछ, खाँडाचक्र नगरपालिका वडा नं २ का कमल मल्लले भन्नुभयो ।
सार्वजनिक यातायातको जिते काउटरमा काम गदै आउनु भएका मल्लले सुरुमा जितेवजारका मजदुरले निकै कमाई गरेको सुनाउनुभयो । कालीकोटका मजदुर नपुगेर छिमेकी जिल्ला दैलेख, अछामवाट समेत आएर समान ढुवानीको काम गदै आएका थिए । अहिले पुल वन्यो सबै पुलवाट ढुवानी हुदा यहाँ यस्तो भयो मल्लले अनुभुती सुनाउनुभयो ।





