नविन पाण्डे
पहाडमा बिहान ढल्किनुअघि उठ्ने त्यो नुनिलो हावा, चिसो ढुङ्गा, भित्ताहरूमा पसिएका बिहानका ओसका रेखाहरू—यी सबै आज पनि कतै मेरो मनभित्र बाँचिरहेका छन्। समयले सबै बगायो, तर सम्झनाले अझै बगाउन सकेन। गाउँको नाम उच्चारण गर्नासाथ मन एकाएक त्यहीँ पुरानै ढुङ्गे पिँढीमा बस्न पुग्छ—जहाँ बिहान कुनै ध्वनि नआउँदै पनि जीवनको लय चलिरहेको हुन्थ्यो।
बिहानै गाईको गोबर मिसिएको रातो माटोको सुगन्धले पूरा आँगन भरिन्थ्यो। त्यो सुगन्ध आज पनि मेरा नसामा कतै बसिरहेछ—त्यो केवल घर सफा गर्ने क्रिया थिएन, त्यो बिहानलाई पवित्र बनाउने विधि थियो। आमा, सानीमा कान्छिआमा फुपु र गाउँकी दिदीबहिनीहरू टोलैभरि रातो माटो लिन निस्कन्थे। टाकुराको किनारमा पुगेपछि कसैले प मोटो बोक्न लाई बनायको सानो निगालो को डोको बाट मनिसो चुच्चो भएको कुटो झिक्थे कसैले हातले नै माटो चिप्ल्याएर भर्थे कोही माटोलाई नजिकैको हिलोसँग मसिनो पार्दै हुन्थे त कोही हँसिरहेकी, कोही झोले बोकिरहेको बालकलाई अँगालो मार्दै।
त्यो दृश्य केवल माटो भित्र्याउने दृश्य थिएन—त्यो गाउँको बिहानको सामूहिक संस्कार थियो। मानौँ पहाडका सबै बोटबिरुवासमेत त्यो क्षणका सहभागी थिए। घरको ढोकामा रातो माटो पोतिँदै गर्दा आमाको हातमा एउटा अपार श्रद्धा हुन्थ्यो। दैलो पोतिँदा घरले नयाँ रूप पाउँथ्यो—मानौँ भित्ताहरूले रातभर थाकेको जीवन फेरेर पुनः उठ्न पाएको हो। त्यो रातो माटोले घरमा ताजा प्राण हुन्थ्यो, र मानिसहरूमा सुगन्धले अचम्मको आत्मिक सुरक्षितता भरिदिन्थ्यो। तर आज त्यही माटो खन्ने खानी नै पुरिइसकेको छ। त्यो स्थान, जसले अनगिन्ती बिहानहरू जन्मायो, आज झाडीले ढाकिएको छ। एक–एक ढिस्को निम्त्याउने आवाज हराइसकेको छ। कहिलेकाहीँ लाग्छ—त्यो खानीले पनि हामीलाई खोजिरहेको छ होला। ती हात कता हराए? ती मानिस कता गए जसले माटोलाई धर्मजस्तै मान्थे?
गाउँलाई गाउँ बनाउने केन्द्रबिन्दु थियो—तुलसीको मठ। बिहान धूपको धुवाँ तुलसीको पातमा बस्दा मलाई लाग्थ्यो, मठ आफैँ सास फेर्दैछ। आमाले पानी चढाउँदा पातहरू हल्का काँप्थे, बाजेले शक्ख बजाउदा सबै गाउ उठे जस्तो लाग्थो र त्यस कम्पनले घर–आँगनमा एउटा अनुपम स्वच्छता फैलिन्थ्यो। तुलसी मठ वरिपरि नानीहरूको खेल, बुढाबूढीको गफ, युवाहरूको हाँसो—यी सबैले उसलाई गाउँको धड्कन बनाएको थियो।
आज त्यो तुलसी उस्तै छ—तर निकै थाकेको देखिन्छ।
पानीको स्पर्श बिर्सिएको, धूपको सुगन्ध बिर्सिएको,
र सबैभन्दा ठूलो कुरा—मानिस बिर्सिएको।
गाउँको जीवन दरिएको ठाउँ खेत–बारी नै थिए। खेतमा जोत्नु, गोरुको गोठालो बोलाउनु, पानीको कुलो फेर्नु—यी सबै कार्यहरूसँग मान्छेको आत्मा जोडिएको हुन्थ्यो। खेतको समातियो हात, पसिनाको नुन, सूर्यको ताल—यी सबै माटोको भाषा थिए। बाजेले अनेकपटक भन्थे—“माटोले मान्छे चिन्छ; हाथ कस्तो छ, कुनै लोभ छ कि छैन—सबै थाहा पाउँछ।
यही ज्ञान आज हामीले हरायौँ। खेत बाझा छन्। आलि कता गइसकेको छ, यसको चिनारी पनि छैन। खर्कमा जाने बाटोहरू झाडीले भरिएका छन्। जोत्ने हात भन्दा मोबाइल समाउने औँला धेरै छन्।
पहिला त खेतको आलि तल–माथि पर्यो भनेर हप्ता–महिना झगडा चल्थ्यो,
मानिसले रिसले भरिएर एक–अर्कालाई वर्षौँ बोल्न छाड्थे।
तर विडम्बना, आज त ती आलि–वाली नै बाझा छन्—खेत छाडेर सबै गाउँ छाडे।
झगडा गर्ने मान्छे नै हुँदैन—रिस त के, खेत जोत्नेसम्म मान्छे छैन।
बाजेको त्यो भनाइ अहिले मनमै घोचिएर रहन्छ—
“बारी रित्तिनु भनेको गाउँको मुटु नै रित्तिनु हो।”
चाड–पर्वको भूमरी त झनै हृदय चिर्ने विषय हो ।
चाड–पर्वका दिन गाउँ एकदमै फरक देखिन्थ्यो।
दशैँमा ढोलको ताल, टोलभरि दौडधुप,
तिहारमा दाजुभाइको काखोमै बहिनीको हाँसो,
माघे संक्रान्तिमा आगो ताप्दै गरिने भलाकुसारी…
सबैको मन घर–आँगनमा थियो।
तर अहिले चाड आउँछ, गाउँमा शान्ति मात्र बज्छ।
पहिले एकै घरमा ३० जना जम्मा हुन्थे,
आज ३० घरमा तीन जना पनि भेटिन्नन्।
चुल्होको धुवाँले पुरै टोला ढाक्थ्यो,
अब त चुल्हो पनि बलेको गन्ध कहिले–काहीँ मात्र आउछ ।
गोरेटो बाटो…
पहिले त बिहानै गाई–बस्तुले उडाएको धुलोले सिंगो डाँडा उज्यालो हुन्थ्यो।
गोरु हाँक्ने आवाज, गोठालाको गीत, पराल बोकेर हिँड्ने आमा
यी सबैले गाउँलाई जीवित राख्थे।
तर आज त्यही बाटो सफा छ, अत्यन्त सफा।
कसैले गोठबाट गाई निकाल्दैन, कसैले बाँदर हप्काउँदैन।
गोठालोको हाँसो, गाईको घण्टी—सबै हराइसके।
गाई–बस्तु मात्र होइन,
तिनलाई पाल्ने हृदय भएका मान्छे पनि हराइरहेछन्।
घरको तस्बिर मन दुखाउने गरी बदलिएको छ ।
पहिला हामी बाँच्थ्यौँ, घर पनि सास फेथ्र्यो।
तर अहिले…
घरको ढलानमा गौथली ले गुड बनाइसकेको छ—
मानौँ घरको असली मालिक त यही हो।
मानिस त वर्षौँअघि हिँडिसके,
गौथलीले पनि अब ढोकामा पर्खाइ राख्दैन,
उसले समेत बुझिसकेको छ—
“यो घरका मान्छे त फर्किँदैनन्।”
कुच्चिएको काठ, भत्किएको भित्ता
र छानामा झुन्डिएको खर को झुम्टा
यी सबैले मन एकक्षण रोकिदिन्छ।
मनमा थाम्न नसक्ने पीडा आउँछ,
आँखामा पानी बल्झिन्छ—
किनकि घर उजाड हुनु भनेको
परिवार मात्र होइन,
जुन गाउँले हाम्रो पहिचान बोकेको थियो,
त्यो आत्मा नै उजाड हुनु
र त्यो उजाडको बीचमा उभिएको
गाउँमा मृत्यु हुँदा हुने सामूहिकता
आजको दिनको सबैभन्दा ठूलो हराएको धन हो।
पहिले उल्टो शङ्ख फुकाउनासाथ
धान काट्दै गरेको मान्छे,
पाखामा घाँस काट्दै गरेको आमा,
खेतमा जोतिरहेको बाबुले
एकैछिनमै काम छाडेर दौडिन्थे।
मृत्यु कसैको हुन्थेन—
मृत्यु त गाउँकै हुन्थ्यो।
आज उल्टो शङ्ख फुक्ने मान्छे छैन।
मलामी लैजान चार जना जुटाउन कठिन छ।
काखमा रोइरहेकी बुढीआमा भन्दा
समाजको मौनता अझै चर्को छ।
सँधैजस्तै उभिएको छ—
एउटै मौन, थकित तर अडिग प्रतीक—
तुलसीको मठ।
पहिले जसले गाउँलाई एउटा शरीर बनायो,
अब उही मठले गाउँको एक्लोपन सहिरहेको छ।
मानौँ त्यो हाम्रो सामूहिक इतिहासको अन्तिम सास बन्न लागेको छ।
तर आश्चर्य के छ भने—
मठ अझै थाकेको छैन।
उभिएको छ।
धेरै वर्षदेखि प्रतीक्षा गर्दै।
कसैले पानी हाल्ला कि भन्ने।
कसैले धूप बाल्ला कि भन्ने।
कसैले एकदिन गाउँ फर्केलान् कि भन्ने।
गाउँ मरेको होइन—
गाउँ आज पनि जीउँदो छ,
तर अत्यन्तै धैर्यवान ढङ्गले,
अन्तहीन प्रतीक्षामा।
मरेका त हामी हौँ।
हामीले नै माटोसँगको सम्बन्ध तोड्यौँ।
हामीले सामूहिकता बिर्सियौँ।
हामीले जरा काट्यौँ,
र सहरको प्रकाशमा आफैँलाई हरायौँ।
तर गाउँ—
गाउँ कहिल्यै रिसाउँदैन।
गाउँ मनमुष्ट हुन्छ, तर हार मान्दैन।
एक दिन हामी फर्किनेछौँ—
सायद भोलि होइन,
सायद धेरै पछि।
तर फर्किनेछौँ।
र त्यो दिन
रातो माटो फेरि दैलोमा पोतिनेछ,
तुलसी फेरि भियाउनेछ,
गाईको घण्टी फेरि गोरेटोमा बज्नेछ,
अनि गाउँ—
गाउँ फेरि जिउँदो हुनेछ।
गाउँ अहिले पनि त्यहीँ छ—
दैलोमा रातो माटो,
आँगनमा तुलसी,
भित्तामा पुराना छोइटाहरू लिएर
हाम्रो प्रतीक्षामा बसिरहेको।
हामी फिर्ता जाँदैछौँ—
कहिल्यै नलिखिएको एउटा प्रतिज्ञा पूरा गर्न।
लेखकः रास्ट सेवक कर्मचारी हुनुहुन्छ ।





