३ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एकाएक मुलुक फरक मोडमा पुग्नु जेनजीकाे नाममा अराजक्ता देखा परेकाे बताए । उनले नाम जेनजीकाे लिएर अराजक समुहले ब्यक्तीगत रिसकाे भरमा लुटपाट, अागजनी र ताेडफाेड गरेकाे सुनाए । अनुसन्धान गर्ने हाे भने सरकारी कर्मचारी देखि छिमेकीकै गरमा समान भेटिने अबस्था छ भन्दै यस्ता गलत कामले कहिलै उभाे नलाग्ने बताए । उनले दल र सरकारका हामी ब्यक्तीमा देखा परेका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नु पर्ने स्वीकार गरे ।
उनले नागरिकका आवश्यकताको संवोधनमा तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा एकाएक मुलुकले फरक मोड लिन पुगेको बताएका हुन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज अायाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री कँडेलले सो धारणा सार्वजनिक गरेका हुन् ।
कँडेलले युवा पुस्तामा उत्पन्न निराशालाई बुझ्न र समस्या समाधान गर्न गरिएका पहलहरू पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन् । ‘यस्ता कमी कमजोरीलाई सच्याउँदै आ–आफ्नो ठाउँबाट सुधारसहित आम नागरिकमा भरोसा बढाउँदै जानुपर्ने वास्तविक यथार्थतालाई हामी सबैले स्विकार्नै पर्दछ’ शुभकामना सन्देशमा भनिएको छ ।
परिवर्तन र शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड र विनाशकारी घटनाले सबैलाई स्तब्ध बनाएको मुख्यमन्त्री कँडेलले बताएका छन् । उनले लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना समेत गर्न नसकिने घटना भएको बताएका छन् । ‘यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्रका पक्षधर सबैलाई म हार्दिक अनुरोध गर्दछु,’ कँडेलले भनेका छन् ।
तीन तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दशकौं पछाडि धकेल्ने प्रयत्न भएको कँडेलले बताएका छन् । ‘जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थिति पछि यति बेला हामी सबै सामु गम्भीर चुनौती उत्पन्न भएको छ’ सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री कँडेलले प्रदेश संरचनाप्रति उठेका टिका–टिप्पणीलाई समयको माग अनुसार सुधारात्मक बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । ‘प्रदेश संरचना संघीयताको पहिचान हो । यसप्रति आएका टिका–टिप्पणीलाई समयअनुसार सुधार गर्दै समन्वय, सहकार्य र सहअस्तित्वमार्फत मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने छ,’ उनले भनेका छन् ।
संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भएको र यसले नागरिकका अधिकारलाई सुनिश्चित गरेको विज्ञप्तिमा उल्लेख छ । संविधान दिवसले संविधान प्रदत्त अधिकारप्रति कर्तव्यनिष्ठ र जिम्मेवार बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय एकतालाई सुदृढ बनाउन र समृद्धिको दिशामा योगदान गर्न सबैलाई आ–आफ्नो ठाउँबाट अग्रसर हुन आग्रह गरेका छन् ।





