प्रेमराज सिम्खडा,
सुर्खेत असार ५ गते
सुत्केरी अवस्थामा आमाको मृत्यु भएपछि अलपत्र परेका नवजात जुम्ल्याहा शिशुको पालन पोषण तथा संरक्षणको जिम्मेवारी कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सर्खेतले लिएको छ । सुत्केरी भएको २० मा उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आमाको मृत्यु भएको र बुवा अशक्त भएकाले नवजात शिशुको पालन पोषण, शिक्षा सम्मको जिम्मेवारी कोपिला भ्याली सेवा समाजले जिम्मा लिएको हो ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाले कोपिला भ्याली सेवा समाजलाई पत्राचार गर्दै हुक्लाको सिम्कोट गाउँपालिका वडा न–५ निवासी लोकबहादुर सुनारका नवजात जुम्ल्याहा शिशुको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सेवा समाजलाई सिफारिस गरेपछि शिशुको जिम्मा लिएको हो ।
मन्त्रालयको मिति २०८३ असार ४ गतेको पत्र अनुसार लोकबहादुर सुनारकी श्रीमती नानी कामी सुनार सुत्केरी भएको २० दिनमै मृत्यु भएपछि उहाँका नवजात जुम्ल्याहा शिशुको पालन पोषण र संरक्षणमा समस्या उत्पन्न भएको उल्लेख छ । आमाको निधनपछि शिशुहरूको उचित स्याहार, संरक्षण र लालनपालनमा कठिनाइ देखिएपछि सम्बन्धित निकायको सिफारिसमा कोपिला भ्याली सेवा समाजलाई जिम्मेवारी दिइएको मन्त्रालयको महिला तथा बालवालिका शाखाले जनाएको छ ।
पत्रमा मृतकबाट जन्मिएका नवजात जुम्ल्याहा शिशु लोकेन्द्र सुनार र नवीन सुनारलाई कानुन बमोजिम आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी पालन पोषण र संरक्षणको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । सिमकोट गाउँपालिका हुम्लाको सिफारिसका आधारमा गरिएको उक्त निर्णयले अभिभावकीय संरक्षणबाट वञ्चित भएका नवजात शिशुको जीवनरक्षा, स्वास्थ्य तथा भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समाजका प्रबन्धक निर्देशक टोपवहादुर मल्ल र अध्यक्ष गोगनवहादुर मल्लका साथै समाजका कर्मचारीलाई नवजात शिशु जिम्मा लगाईएको छ । समाजका निर्देशक मल्लले सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाजले यस्तो बेसाहरा शिशुको हेरचाह, शिक्षा र संरक्षणको जिम्मेवारी बहन गर्ने र यस अघि पनि धेरै टुहुरा शिशुको जिम्मा लिएको बताउनुभयो ।
स्थानीयवासीले आमाको मृत्युका कारण कठिन अवस्थामा पुगेका नवजात शिशुलाई संस्थागत संरक्षणको व्यवस्था गरिनु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् । कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनवहादुर मल्लले शिशुको पालन पोषण देखि शिक्षा प्राप्ती सम्मको जिम्मा लिएको स्वीकार गर्नुभयो । हाम्रो काम नै यही हो, टुहुराको उद्धारका लागि सञ्चालनमा आएको समाजले यस अघि पनि धेरै बच्चाको उद्धार गरेर पालन पोषणका साथै पढाउने काम गरिरहेको बताउनुभयो । प्रेमराज सिम्खडा
फोटो क्याप्सनः २० दिनका टुहुरा नवजात शिशुको उद्धार गरेर लिदै कोपिला भ्याली सेवा समाजका निर्देशक र अध्यक्ष





