भोटेकोशी बाढीपछि कर्णालीमा विपद् पूर्वतयारी तीव्र, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशी बाढीपछि कर्णालीमा विपद् पूर्वतयारी तीव्र, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रेमराज सिम्खडा
कालीकाेट भदाै ११ गते । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा बुधबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले विपद्को सम्भावित जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी विभिन्न सात वटा निर्णय गरेको हो।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीकाे प्रभावलाई केलाउदै कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी दिनमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै
 सचेत रहन बिभिन्न निर्णयका साथ पुर्वतयारी गरेकाे हाे । प्रदेश प्रमुख सचिव राधिका अर्यालको संयोजकत्वमा बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका नागरिकहरू समेत विभिन्न काम तथा तीर्थयात्राका क्रममा रहेको हुनसक्ने भन्दै उनीहरूको तथ्यांक संकलन गरी परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरी पठाउने निर्णय गरेको छ।
यसैगरी जाजरकोटमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबाट भइरहेका उद्धार, राहत तथा अन्य कार्यबारे बैठकमा जानकारी लिइएको छ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।
,,दैलेख, सुर्खेत सहितका जिल्लामा भारी वर्षाको पूर्वानुमान,,
जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णाली प्रदेशका पहाडी जिल्लाहरू दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको बैठकमा जानकारी गराइएको छ।
भारी वर्षाको सम्भावनालाई ध्यान दिँदै दैलेखको महाबु गाउँपालिका, बाजुराको बडिमालिका, मुगुको ऋणमोक्ष धाम तथा जुम्लाको ठाकुरज्यू लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा तीर्थयात्रा तथा भ्रमणमा रहेका नागरिकलाई आफूले प्रयोग गर्ने सडक तथा पैदलमार्गको मौसम अवस्था जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय गरिएको छ।
,,सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन,,
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वसूचना, पूर्वतयारी र प्रतिकार्यमा सबै सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जानकारी गराउने निर्णय गरेको छ। प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी घटनाका प्रमुख सूचकहरूको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमा नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको मन्त्रालयका उपसचिव बिधा प्रसाद उपाध्यायले जानकारी दिनुभयाे ।
,,विपद्को समयमा कर्मचारीलाई बिदा नबस्न निर्देशन ,,
विपद्को जोखिम कायमै रहेको अवस्थामा प्रदेश अन्तर्गतका कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीहरूलाई अत्यावश्यक काम बाहेक बिदामा नबस्न बैठकले निर्देशन दिएको छ। अत्यावश्यक कारणले बिदामा बस्नुपर्ने अवस्था आएमा सम्बन्धित कार्यालयमा वैकल्पिक व्यवस्था मिलाएर मात्र बिदामा बस्नुपर्ने निर्णय गरिएको छ। बैठकमा प्रमुख सचिव राधिका अर्याल सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, उत्तरपश्चिम पृतना हेडक्वार्टरका प्रतिनिधि तथा महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र खोजी तथा उद्धार कार्य जारी रहेको अवस्थामा कर्णाली सरकारले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र समन्वयलाई प्राथमिकता दिएको हो।
बैठकमा सहभागी प्रमुख सचिव सहित मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तस्वीर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव विद्या प्रसाद उपाध्याय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित