व्यावहारिक शिक्षामा जोडः सुर्खेतको सिम्लेमा सयपत्री एकेडेमीको नमुना अभ्यास

व्यावहारिक शिक्षामा जोडः सुर्खेतको सिम्लेमा सयपत्री एकेडेमीको नमुना अभ्यास

चैत १४ गते
वीरेन्द्रनगर नगरपालिका–२ स्थित सिम्लेमा रहेको सयपत्री एकेडेमीले परम्परागत पाठ्यक्रमसँगै व्यावहारिक शिक्षालाई जोड दिँदै विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै आएको छ । विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने अभियान सञ्चालन गरिरहेको छ ।
विद्यालयमा विद्यार्थीहरूलाई दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न सीपहरू सिकाइन्छ। जसअन्तर्गत लुगा धुने, लुगा सिउने, सरसफाइ गर्ने, लुगा पट्याउने तथा जुत्ता–चप्पल मिलाएर राख्ने जस्ता आधारभूत व्यवहारिक ज्ञान दिइन्छ। यसले बालबालिकामा आत्मनिर्भरता र अनुशासनको विकास गराउने विद्यालयको विश्वास छ।
कृषि शिक्षालाई पनि विद्यालयले विशेष प्राथमिकता दिएको छ। विद्यार्थीहरूलाई बारी तयार गर्ने, धान रोप्ने, गोड्ने, काट्ने र मिलमा लगेर कुटाउनेसम्मको सम्पूर्ण प्रक्रिया सिकाइन्छ। यसरी उत्पादन गरिएको चामलबाट विद्यार्थीलाई भात खुवाउने अभ्यासले सिकाइलाई अझ व्यवहारिक बनाएको छ। साथै तरकारी तथा फलफूल खेतीबारे पनि विद्यार्थीलाई प्रत्यक्ष अनुभव गराइँदै आएको छ ।
त्यसैगरी, हाँस पालन र मौरी पालनसम्बन्धी तालिमसमेत विद्यार्थीलाई दिइँदै आएको छ, जसले उनीहरूलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गरेको छ । बिद्यालयका सञ्चालक रामप्रसाद वरालले विद्यालयले प्रत्येक महिनाको अन्तिम दिन कृषि तथा व्यापारिक मेला आयोजना गर्ने गरेको बताउनुभयो । उक्त मेलामा विद्यार्थीहरूले घरमै उत्पादन गरेका सामग्री ल्याएर बिक्री गर्ने गर्छन्। यसबाट उनीहरूमा उद्यमशीलता र व्यापारिक सीपको विकास भइरहेको सञचालक वरालको भनाई छ ।
सिजन अनुसारका काममा बिद्यार्थीलाई सहभागी गराउने एकेडेमीको कार्यायोजना छ । विद्यार्थीहरू खेतबारीमा घाँस सफा गर्दै, खेतीसम्बन्धी काम सिक्दै गरेका हुन्छन । यस्तो अभ्यासले शिक्षा केवल कक्षाकोठामा सीमित नभई जीवनसँग जोडिनुपर्ने सन्देश दिएको छ । सञ्चालक वरालले आफ्नो लामो अनुभवले पढाईसंगै जिवन उपयोगी शिक्षासंग पनि जोड दिने गरेको सुनाउनुभयो ।
व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै अगाडि बढेको यस विद्यालयको प्रयासलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ । “जय शिक्षा, जय कर्णाली, जय सुर्खेत” भन्ने नारासहित अघि बढिरहेको यो पहल अन्य विद्यालयका लागि समेत प्रेरणादायी बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित