मूलधारका दलले एक-अर्कालाई देखाएर पन्छिन मिल्दैन् : मुख्यमन्त्री कँडेल

मूलधारका दलले एक-अर्कालाई देखाएर पन्छिन मिल्दैन् : मुख्यमन्त्री कँडेल

भदाैँ ११ गते सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधारका ठूला तीन दलले एक अर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताउनु भएकाे छ । सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउनुभयाे।
दलीय मतभिन्नतालाई थाती राखेर जनता माझ आशा र विश्वास दिलाउन सके राजनीति र विकासले सही मार्ग पहिल्याउने उहाँको भनाई छ । ‘एक अर्कालाई कमजोर देखाउन केही भएको छैन् भनेर निराशा बाँड्न हुँदैन्, ठूला तीन दल पालैपालो शासन सत्तामा छौं, उहाँले भन्नु भयाे, ‘हामीले भएका राम्रा सकारात्मक कामहरु सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।’
मुख्यमन्त्री कँडेलले विकास जुन तहका सरकारले गरेपनि यही व्यवस्थाको उपज भएकाले सामूहिकतामा हेरिनुपर्ने धारणा व्यक्त गनुृभयाे । केही कमजोरी अझैं छन्, तिनलाई सुधार गर्दै जानुपर्छ तर केही नभएको भन्ने होइन्, पर्याप्त कामहरु भएका छन्, उहाँले भन्नुभयाे।  साथै उहाँले अघिल्लो पुस्ता जस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताउनुभयाे । ‘हामीले ५० वर्षपछि नयाँ प्रहरी चौकी पायौं, तर अहिलेको पुस्ताले यतिका वर्ष पर्खन सक्दैन्,’ मुख्यमन्त्री कँडेलले हामी जिम्मेवार ठाउँमा भएकाले इमान्दारपूर्वक काम गरेर विश्वास दिलाउन सकौं, जसले हामी मध्येबाटै चुनिने जनप्रतिनिधिलाई सहजता हुने हो ।’ मुख्यमन्त्री कडेलले भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने औंल्याउनुभयाे ।
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताउनुभयाे। प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पुरा भएको बताएउनुभयाे। भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधा सम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गनुृभयाे ।
चौकी निर्माणका लागि गाल्वा/क्याराभान/सुपरस्टार जेभी काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच  २०७६ जेठ ११ गते सम्झौता भएको थियो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख ७ हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । ३०२ वर्ग मिटरमा बनेको तिन तले भवनमा ब्यारेक, अफिस, गार्ड रुम, हिरासत कक्ष, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना छन् ।
भवन उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा पुष्पराज शाही, कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित