प्रेमराज सिम्खडा
कालीकोट मङ्सिर १४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गर्नु भएको हो । सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्न हुँदै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रा भएको बताउनुभयो ।
अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्य पहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,“ मध्य पहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन संवाद गर्छौ ।

अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुस १ गते झन्डोत्तोलन गरी समापन हुने उहाँले बताउनुभयो ।
सङ्कल्प यात्रामा आम जनताको उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठुलो योगदान पुर्याउने बताउनुभयो । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुर्याउने छ । राष्ट्रिय हितमा योगदान पुर्याउने । सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । अभियानका क्रममा एमालेका नेताहरुको मध्यपहाडी राजमार्गका बिभिन्न ठाउँमा वास बस्ने छन भने दर्जन वढी ठाउँमा ठुला आमसभा समेत हुने छन । यि ठाउँमा हुदैछन एमालेको अभियानमा आम सभा र वास ।
अभियानका क्रममा बास बस्ने ठाउँहरूः मंसिर–१३ ः गोठालापानी, मंसिर–१४ ः अमरगढी डडेल्धुरा, मंसिर–१५ ः सिलगढी डाटी, मंसिर–१६ ः मंगलसेन अछाम , मंसिर–१७ ः दैलेख, राकम, मंसिर–१८ ः सुर्खेत, मंसिर–१९ ः रुकुमकोट, मंसिर–२० ः गलकोट, मंसिर–२१ ः पोखरा, मंसिर–२२ ः गोरखा,मंसिर–२३ ः बगरकोट, मंसिर–२४ ः धुलिखेल, मंसिर–२५ ः मन्थली, मंसिर–२६ ः दिक्तेल, मंसिर–२७ ः भोजपुर, मंसिर–२८ ः बसन्तपुर, मंसिर–२९ ः संक्रान्तिबजार, मंसिर–३० ः फिदिम, पुस–१ ः चिवाभञ्ज्याङमा गएर सकिने छ ।
यस्तै सभ, भेला र भेटघाटका कार्यक्रमहरु वैतडीको गोठालापानीमा पहिलो सभा हुने छ भने त्यसपछि सिलगढी, मंगलसेन, दैलेख,सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मा, सुन्दरबजार, बट्टार, मण्डन कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम, च्याङ्थापुमा सभा हुने एमालेको तयारी छ । यस्तै पुस ५ गते काठमाण्डौमा समिक्षा सहित अभियानको समापन हुने बताईएको छ।





