मुना हमाल
कालीकाेट चैत १७ गते । जिल्लाकाे सान्नीत्रिवेणी गाउँपालिकामा रहेका आमा समूहहरुमा सुरक्षित मातृत्व कोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजना अन्तरगत सान्नित्रिवेणी गाउँपालिकामा शुक्रबार गाउँपालिका वडा नं ७, ८ र ९ मा रहेका नौ वटा आमा समूहहरुमा १० हजार बराबरको सुरक्षित मातृत्व कोष स्थापना गरिएको हो ।
परियोजनाका पालिका संयोजक श्याम गिरीले तीन वटै वडाका नौ वटा आमा समूहमा महिला स्वास्थ्य स्वंयमसेविका र वडाका जनप्रतिनिधि मार्फत प्रत्येक समूहलाई परियोजना मार्फत पाँचपाँच हजार रुपैयाँ वितरण गरिएको जानकारी दिनुभयाे । उक्त कोषमा आमा समूहका सदस्यहरुले पाँच हजार आफै जम्मा गरेका हुन् । संयोजक गिरीका अनुसार कोष मार्फत महिलाहरुले गर्भवती तथा सुत्केरीको समयमा आकस्मिक सेवा लिन सक्ने छन् ।
परियोजना अन्तरगत गाउँपालिकाका १ देखि ६ वडाका सबै आमा समूहहरुमा सुरक्षित मातृत्व कोष स्थापना गरिसकिएको पालिका संयोजक गिरीले जानकारी दिए । उनले भने, ‘परियोजनामार्फत पालिकाका सबै आमा समूहहरुमा सुरक्षित मातृत्व कोष स्थापना गरिएको छ । यसमा सुनौलो हजार दिनका आमा र बच्चालाई अप्ठेरो पर्दा सहयोग पुग्छ ।’ यस अघि नेपाल रेडक्रस सोसाइटीले प्रत्येक आमा समूहहरुलाई पाँच हजार बराबरको बैठक समाग्री सहयोग गरेको थियो । चार वर्षीय समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजना सन् २०२२ देखि सान्नित्रिवेणी गाउँपालिकामा लागू छ ।





