कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा बिहिवार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा ४ स्थित धामि गाउँ पुग्यो ।
थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली कांग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । धामि गाउँ, स्याल डांडाका दलित बस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक कांग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि सारेर राम्रो काम गरेको बताए । महिला प्रमुखबाट आफूहरुलाई अलिक बढी आशा बढेको उनीहरुको भनाइ थियो ।
रुपा गाउँपालिकाको अध्यक्ष प्रत्यासी गीमाया गुरुङले आफ्नो सपना नै समावेशी गाउँपालिका भएकाे बताइन् । ‘गाउँपालिकालाई विभेदरहित र समावेशी बनाउने मेरो सपना हो । दलित समुदायलाई चुनावका लागि मात्र प्रयोग गर्ने नभई समावेशी रुपमा आरक्षण दिएर सँगसँगै हिँड्ने वातावरण बनाउनकै लागि मेरो उम्मेदवारी हो ।’ गीमायाले भनिन्,‘म आफैं पनि महिलाको प्रतिनिधित्व गरेर यहाँसम्म आएकी हुँ । त्यसैले समावेशीका सबालमा मबाट कुनै धोका हुने छैन ।’
साथै स्याल डांडाका दलित समुदायले विकास निर्माणको सवालमा पनि दलित बस्तीलाई विशेष प्राथमिकतामा राख्न उम्मेदवारलाई सुझाव दिए । उम्मेदवारहरुले सो सबालमा पनि आफूहरु निर्वाचित भएपछि गाउँपालिकालाई समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।
मंगलबार मात्रै नेपाली कांग्रेसका उम्मेदवारले रुपा गाउँपालिकाकै वडा नम्बर ४ धामि गाउँ, स्याल डांडा लगायत स्थानमा मतदातालाई घरघरै पुगेर भेटेका छन् । उनीहरुले आफ्नो पक्षमा मत माग्दै जनताको काम गर्ने सबालमा आफूहरु सधैं कटिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाए ।





