दरबन्दी छ, कर्मचारी छैनन

दरबन्दी छ, कर्मचारी छैनन

प्रेमराज सिम्खडा
कालीकोट बैशाख ११ गते । जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ जुमचौरमा स्वास्थ्य चौकी छ । साविकको फोइमहादेव स्वास्थ्य चौकीमा अहिले बर्थिङ सेन्टर सञ्चालनमा छ । तर रातको समयमा गर्भवती महिला सुत्केरी हुन आएको खण्डमा स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यक्रर्मीको अभाव हुदा सेवाग्राहीलाई सास्ती भईरहेको छ ।
कर्मचारी समायोजनका बेला तिलागुफा नगरपालिका रोजेर ३६ जना दक्ष अर्थात तालिम समेत लिएका स्वास्थ्यक्रर्मीको दरवन्दी मिलान भएको थियो । साविकका पाँच गाउँविकास समितिलाई समावेश गरेर बनेको तिलागुफा नगरपालिकामा केही कर्मचारी फाजिल समेत थिए । नगरपालिकाले थप गरेका सामुदायिक स्वास्थ्य ईकाइमा तिनै कर्मचारी अर्थात समायोजनका बेला आएका कर्मचारीलाई पठाएका कारणले वर्थिङसेन्टरमा अहिले सुत्केरी गराउने स्वास्थ्यक्रर्मीको अभाव भएको हो ।
वडा नं १ की महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मी वोगटीले वर्थिङसेन्टरमा स्वास्थ्यक्रर्मीको अभावले आफुहरुले निकै दुख पाउने गरेको बताउनुभयो । उहाँले सुत्केरी बेथा लागेका महिलालाई राती वर्थिङसेन्टरमा ल्याउदा त्यहाँ तालिम प्राप्त अनमी नहुदा राती राती बोलाउनु पर्ने कि त भने नगर अस्पताल लैजानु पर्ने बाध्यता भएको गुनासो गर्नुभयो । अहिले स्वास्थ्य चौकीमा एक जना मात्र स्थाई अनमी कार्यरत हुनुहुन्छ । उहाँको घर वडा नं ३ मा भएकाले रातीको समयमा घरमा जाने हुदा उक्त समयमा सुत्केरी हुन आउने महिलालाई सेवा दिन कठिन भईरहेको छ ।
स्वास्थ्यचौकी इन्चार्ज गयाप्रसाद कुमाईले एक जना तालिम प्राप्त अनमी एक जना आफु पारामेडिशियन, र एक जना करारको अनमी गरी तीन जना मात्र कर्मचारी छौ । एक जनाले तालिम नलिएका कारणले सुत्केरी गराउन मिल्दैन, त्यसैले पनि सेवा प्रवाहमा समस्या भईरहेको बताउनुभयो । उहाँले समायोजन भएर आएका स्थाई कर्मचारीलाई नगरपालिकाले अन्य सामुदायिक स्वास्थ्य सँस्थामा पठाएका कारणले वर्थिङसेन्टरमा कर्मचारीको अभाव हुदै आएको सुनाउनुभयो ।
यो स्वास्थ्य सँस्था कर्मचारी अभावको प्रतिनिधि मात्र हो । सेभःद चिल्ड्ेन किर्डाक नेपालको सहयोगमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका अधिकाँस सहभागीले साविकका स्वास्थ्यचौकीमा तालिम प्राप्त अनमी कम्तीमा पनि दुई जना राखेर २४ सैँ घण्टा सेवा दिन माग गरेका थिए । नगरका अन्य वर्थिङसेन्टरमा पनि सुत्केरी गराउन सक्ने तालिम प्राप्त स्वास्थ्यक्रर्मी(अनमी)को अभावले सेवाग्राही समस्या छन । वडा नं १० रुडुमा अनमीकै अभावले चिल्खायाको वर्थिङसेन्टरमा सुत्केरी गराउन लैजानु पर्ने वाध्यता छ । कर्मचारी अभावले गर्दा नवजात शिशु सुरक्षामा चुतौती थपिएको छ ।
नगरपालिकाले राँचुली स्वास्थ्यचौकीलाई नगर अस्पतालका रुपमा बिकास गरेको छ । त्यहाँ भने केही स्वास्थ्यक्रर्मी भएकाले सुत्केरी गराउन सजिलो भएको सिनियर अहेब कुमाईको भनाई छ । स्थानीय मिना वुढाले नगरपालिकाले स्थापना गरेका सामुदायिक स्वास्थ्य ईकाईमा करार कर्मचारी राख्नु पर्नेमा तालिम प्राप्त कर्मचारीलाई त्यहाँ सरुवा गर्दा स्वास्थ्य सेवा पाउनवाट बन्चीत भएको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले आफ्नै श्रोतवाट कर्मचारी भर्ना गरेर त्यहाँ कामकाजमा लगाउनु पर्ने हो । तर स्थाई कर्मचारीलाई चलायर वर्थिङसेन्टरमा कर्मचारी अभाव गरेको बताउनुभयो । सिनियर अहेब मनराज शाहीले सिनियर भन्दा पनि दलको प्रिय मित्र भए उसैले जिम्मेवारी पाउने भएकाले पनि पछिल्लो समय स्वास्थ्य अवस्था खस्कीरहेको बताउनुभयो ।
नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले स्वास्थ्यसंग नगरप्रमुख कार्यक्रम भएकाले जहाँ समस्या छ त्यहाँको समाधान गर्ने बताउनुभयो । उहाँले यस्तै समस्या समाधानका लागि कार्यक्रम नगरसभाले तय गरेको भन्दै तत्काल सबै तिरको समस्या एकिन गरेर कर्मचारी ब्यवस्थापन गर्ने सुनाउनुभयो । हामी नागरिकको स्वास्थ्य प्रति गम्वीर छौ, त्यही अनुसार लाग्ने भन्दै एक पटक सबै तिरको समस्या एकिन गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित