प्रेमराज सिम्खडा
कालीकोट, फागुन २५ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ ले कुनै पनि वडा भित्रका नागरिकको बिवाह गर्दा वडावाट सिफारिस लिनु पर्ने ब्यवस्था गरेको छ । शुभकालीका गाउँपािलका वडा नं ४ का अध्यक्ष प्रदिप प्रसाद चौलागाईले एक सुचना प्रकाशित गदै अव देखि पुरुष वा महिला जसको बिवाह हुन्छ उसका वारेमा वडापालिका जानकार हुनु पर्ने त्यसका लागि अबिभावकले वडावाट सिफारिस लिनु पर्ने बताउनुभयो ।
अध्यक्ष चौलागाईले जति प्रयास गर्दा पनि बालविवाह हुन नछोडेका कारणले वडाले यस्तो ब्यवस्था गरेको बताउनुभयो । उहाँले यो सिफारिस प्रणाली गत माघ २६ गते वाट लागु भएको बताउनुभयो । उहाँले जति प्रयास गर्दा पनि बालविवाह नरोकिएको र सरकारको दिगो बिकास लक्ष्य भित्रको बालविवाहको बिषय जटिल बन्दै गएकाले आफ्नो वडा भित्रका सबै गाउँ टोलमा बिवाह हुदा कसको कताको केटा वा केटी संग बिवाह हुन लागेको हो, त्यसको सबै विवरण सहित वडामा आएर सिफारिस लिनु पर्ने बताउनुभयो ।
गत माघ २६ गते प्रकाशित पत्रमा यदी वडाको सिफारिस बिना बिवाह गरेमा कानुन अनुसार कार्वाही हुने र वडावाट उपलब्ध हुने सबै सेवा सुबिधा रोकिने चेतावनी समेत दिईएको छ । वडाको सिफारिस बिना कसैले बिवाह गरेमा उक्त जोडीले बिवाह दर्ताको प्रमाण पत्र समेत पाउने छैन । साथै सो जोडिवाट जन्मेको बच्चाको जन्मदर्ता लगाएका सेवामा वाधा पुग्ने हुदा बिवाह वारेमा वडा सरकारलाई जानकारी दिन अनुरोध गरिएको हो । बालविवाह रोक्ने वलियो जुक्ती भएको भन्दै बिभिन्न क्षेत्रका नागरिकले निर्णयको प्रशंशा गरेका छन ।





